काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव जोखबहादुर महरालाई पार्टीको लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइने भएको छ ।
मंगलबार बसेको स्थायी समितिको बैठकले महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिन लागिएको स्रोत जनाएको छ । यसअघि मंगलबारको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दा प्रवक्ता कृष्णबहादुर महराले यस विषयमा जानकारी गराउनुभएको थिएन ।
यस्तै, बैठकले अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटालाई पार्टी निकट पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रेस सेन्टरको अहिले जिल्ला सम्मेलन चलिहरको छ । मंसिरको १७ र १८ गते संगठनको राष्ट्रिय सम्मेलन हुँदैछ । संगठनको अहिलको अध्यक्ष महेश्वर दाहाल हुनुहुन्छ ।
दुई व्यक्तिलाई पार्टीको जिम्मेवारी पठाएसँगै रिक्त रहेको सचिवालयको जिम्मेवारी अध्यक्ष दाहाल आफैँले सम्हाल्ने मंगलबारको स्थायी कमिटी बैठकमा बताउनुभएको श्रोतको भनाइ छ । अहिले दाहालको सचिवालय उहाँकी छोरी गंगा दाहालले सम्हाल्दै आउनुभएको छ ।
प्रेस सेन्टरको अध्यक्ष र लुम्बिनी प्रदेशको सह–इन्चार्जको विषय टुंग्याउने लगायत समसामयिक विषयमा छलफल गर्न शुक्रबार साँझ भर्चुअल रूपमा केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)को सन्दर्भमा पनि छलफल हुने स्रोतले जनाएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसी यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरिसकेको छ । पार्टीभित्र एमसीसीको विषयलाई लिएर कुनै पनि मतभेद नभए पनि गठबन्धनमा भएको मतभेद हुँदा अध्यक्ष दाहाल जटिल मोडमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्