
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरूसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।
अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरू ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताउनुभयो । उहाँले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताउनुभयो ।
अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताउनुभयो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरू माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्