
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलीका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
समाजवादीले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । हिजो बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको एजेण्डा तय गरेको थियो ।
केन्द्रीय कमिटीको पहिलो दिन आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराउने जनाएको छ ।
बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरूबाट जानकारी लिने र प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने कार्यसूची तय भएको छ ।
बैठकको दोस्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुनेछन् । केन्द्रीय कमिटी बैठकमा नेकपा समाजवादीले सातवटै प्रदेशबाट पार्टीको अवस्थाका बारेमा रिपोर्ट लिने तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्