
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुन लागेको हो ।
प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने प्रतिष्ठानले जनाएको छ ।
तीन दिनअघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा हुने देखिएको थियो ।
सरकारले त्यसको बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो ।
निमित्त उपकुलपति डाक्टर थापाका अनुसार एमबीबीएस २० सिटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० जना भर्ना भइसकेका छन् ।
यता, सरकारले प्रतिष्ठानका उपकुलपति डाक्टर. रावल र रजिष्ट्रार महतसहित निर्देशक र डीनलाई काम काजमा रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । समयमै माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टिम संघर्षका कार्यक्रमसहित आन्दोलनमा जाने चेतावनी कर्मचारीले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्