५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


सभामुखको पनि भयो जनगणना, सफलतापूर्वक सम्पन्न गराउन आग्रह


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन आग्रह गर्नुभएको छ ।

सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

शनिबार केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उहाँले सही तथ्याङ्क संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरूलाई अनुरोध गर्नुभयो । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गर्नुभएको ‘राष्ट्रिय जनगणना २०७८’ मंसिर ९ गते सम्पन्न हुनेछ । ‘मेरो गणना ः मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ ।