२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डडेल्धुराको वडा र पालिका अधिवेशन फेरि नगराए अनसन बस्ने सभापति कर्णको चेतावनी


0
Shares

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः नगरिए अनसन र धर्नामा बस्ने चेतावनी दिनुभएको छ ।

सभापति कर्णले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब बस्ने पार्टीको केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिनुभयो ।

सभापति कर्णाले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रूपमै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय निर्वाचन समितिलाई उजुरी गर्दा पनि त्यसको सुनुवाइ नभएको भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले सत्ता र शक्तिको दुरुपयोग गरेर वडा र पालिका अधिवेशन गरिएकोमा असन्तुष्टि जनाउनुभयो ।

सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइसमेत नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

केन्द्रीय सभापति देउवा र केन्द्रिय निर्वाचन समितिलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशनअनुसार वडा तथा पालिका अधिवेशन हुने तर डडेल्धुरामा किन नहुने ?’

सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने अडान समेत दोहो¥याउनुभयो ।

नेपाली कांग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लाहरूमा शनिबार सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।