
एजेन्सी । भारतको राजधानी दिल्लीमा बढिरहेको वायु प्रदुषण कम गर्न त्यहाँको सर्वोच्च अदालतले लकडाउन गर्न सुझाव दिएको छ । शनिबार मुख्य न्यायाधीश एनबी रमन्नाको इजलासले सरकारलाई दुई दिनको लकडाउन घोषणा गर्न सुझाव दिएको हो ।
सर्वोच्च अदालतले आवश्यक परेको खण्डमा सवारीसाधन, पटाका र कलकारखाना र धुलोका कारण हुने प्रदुषण कम गर्न दुई दिनको लकडाउन घोषणा गर्न भनेको छ । केन्द्र सरकारलाई शहरमा वायुको गुणस्तरमा सुधारका लागि आपतकालिन योजना बनाउन पनि अदालतले आदेश दिएको छ ।
अदालतले केन्द्र सरकारले दिएको किसानले पराल जलाउँदा वायुको गुणस्तरमा कमी आएको जवाफलाई पनि खारेज गरिदिएको छ । प्रदुषणमा किसानले जलाएको परालको हिस्सा एकदमै कम भएको भन्दै अदालतले दीर्घकालीन योजना बनाउन आदेश दिएको हो ।
यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वायु प्रदुषणको चुनौतिसँग लड्का लागि आपतकालिन बैठक बोलाउनुभएको छ । बैठकमा मुख्यमन्त्रीको अलावा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया, स्वास्थ्य मन्त्री सत्येन्द्र जैन, पर्यावरण मन्त्री गोपाल राय पनि सहभागी भएका छन् ।
दिल्लीमा पछिल्लो एक सातादेखि वायुको प्रदुषणमा बढोत्तरी आएको छ । दिपावलीमा पड्काइएको पटाका र पञ्जाबमा किसानले परालमा आगो लगाउँदा प्रदुषण बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको वायुको गुणस्तर ७ सय भन्दा माथि रहने गरेको छ । ५ सय भन्दा माथिको वायुको गुणस्तरलाई घातक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्