
बैतडी । उन्नाइस वर्षमुनिको वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी सुरुवात गरेको छ ।
कञ्चनपुरमा शनिबार भएको खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको दार्चुला २४ दशमलव २ ओभरमा ४८ रनमा सीमित भयो ।
दार्चुलाका दिनेश विष्टले सर्वाधिक १४ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । दार्चुलाको पारी ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहरा ५ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३० दशमलव ४ ओभरमा एक सय ६४ रनमा अलआउट भएको थियो ।
यस्तै, कञ्चनपुरको खुलामञ्च मैदानमा भएको अर्को खेलमा कञ्चनपुरले र बझाङलाई पराजित गरेको छ ।
कञ्चनपुरमा कात्तिक २४ गतदेखि जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता छ । प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली बनाइने छ ।
उक्त टोली उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छ । नेपाल क्रिकेट संघको आयोजनामा अगामी मंसिर ४ गतेदेखि उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगिता हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्