
काठमाडौं । व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मै फिर्ता गर्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश कार्यान्वयनमा सेनाले अटेर गरेको छ । सैनिक जवान गंगाधर ढकालविरुद्धको हत्यासम्बन्धी मुद्दा सिभिल कोर्टमै फिर्ता गर्न गत १४ कात्तिकमा सर्वोच्चले अन्तरिम आदेश गरेको थियो ।
तर, सेना ढकालविरुद्धको मुद्दामा पूर्ण फैसला नआएको भन्दै सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गर्ने पक्षमा छैन । ‘ढकालविरुद्धको मुद्दामा सर्वोच्चले पूर्ण फैसला गरेको होइन, अन्तरिम आदेश मात्रै गरेको हो । यही आदेशकैे आधारमा सेना उक्त मुद्दा तत्काल सिभिल कोर्टमा फिर्ता गर्ने पक्षमा छैन । पूर्ण फैसला आएपछि मुद्दाको पक्षमा के गर्ने हो त्यही वेला सेनाले निर्णय गर्नेछ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने ।
गत ७ साउनमा धादिङ नीलकण्ठ– ७ का भरत गुरुङलाई गोली हानी हत्या गरेको अभियोगमा ढकाल पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो । मुद्दाको अनुसन्धान पनि जिप्रका चितवनले नै गरेको थियो ।
जिल्ला अदालत चितवनमा थुनछेकको बहस चलिरहेका वेला सेनाका प्राड विभागका मेजर सरोज रेग्मी इजलासमा प्रवेश गरेका थिए । लगत्तै जिल्ला अदालतले ढकालको मुद्दा सैनिक अदालतलाई दिन आदेश गरेको थियो । गत १ भदौमा भएको उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवन उच्च अदालत हेटौँडा पुगेको थियो । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सरकारी वकिल कार्यालय सर्वोच्च पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्