
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्यसमितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बुढानिलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्यसमितिको बोलाएकोमा आपत्ति जनाउनुभयो ।
नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनी समेत दिनुभयो । उहाँले सत्ताको दूरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेल्धुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राख्नुभयो ।
नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पूरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाव दिनुभयो ।
नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गर्नुभयो । उहाँले विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरूले राजनीतिक न्यायको खोजी गर्नुपरेको तर्क समेत गर्नुभयो ।
उहाँले पार्टी नेतृत्वले अब महाधिवेशन सार्ने अवस्था भने नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्