
काठमाडौं । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी (एस)सरकारमा सहभागी हुने भएको छ ।
नेकपा एमाले विभाजित हुँदा एमालेका २१ सांसद मध्ये १३ जना प्रदेश सांसदले नेकपा एस रोजेका थिए । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार छ । जसपाका नेता मोहम्मद लालबाबु राउत मुख्यमन्त्री हुनुहुन्छ ।
जसपाका एक प्रदेश सांसदले ईमेजखबरलाई बताएअनुसार जसपाबाट सरकारमा सहभागी १ जना मन्त्रीलाई राजीनामा दिन लगाएर नेकपा एसलाई सरकारमा सहभागी गराउन लागिएको हो । नेकपा एसलाई २ वटा मन्त्रालय दिइने र त्यसका लागि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी समेत गरेका बताइएको छ ।
सुरुमा ६ वटा मन्त्रालय रहेको प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या बढाएर १० पुर्याइएको थियो ।
अहिले जसपाले ४ वटा मन्त्रालय राखेको छ, कांग्रेसले ३ वटा र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिइएको छ । दुई वटा मन्त्रालय मुख्यमन्त्री राउतले आफैंसँग राख्नुभएकाे छ ।
यसैबीच मन्त्रालय भागबण्डामा प्रदेशका सांसदसँग सहमति जुट्न नसकेपछि मुख्यमन्त्री राउत एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न काठमाडाैं आउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्