
काठमाडौं । नेकपा मालेको महासचिवमा फेरि सीपी मैनाली नै निर्वाचित हुनुभएको छ । सोमबार चितवनमा सम्पन्न आठौं महाधिवेशनले मैनालीलाई महासचिवमा चयन गरेको हो ।
महाधिवेशनले मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसमा ५८ जना सदस्य चयन भइसकेका छन् भने बाँकी चयन गर्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।
पोलिटब्यूरो र स्थायी कमिटी भने केन्द्रीय कमिटिको आगामी बैठकले चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी भएका थिए ।
वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव मैनाली नै रहनु भएको थियो । २०३९ सम्म मैनाली महासचिव रहनु भयो ।
२०४७ सालमा अरु कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेमै जानुभएको थियो ।
२०५४ फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै लाग्नुभएका थियो । तर, २०५८ फागुनमा गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने एमालेमा नफर्किएर मालेमै रहनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्