१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृषकलाई अनुदानमा गहुँको बिउ वितरण


0
Shares

हरि शर्मा
पश्चिम नवलपरासी । बाढीका कारण धानबालीमा क्षति व्यहोरेका जिल्लाका किसानहरूलाई गहुँको बिउ वितरण गर्न थालिएको छ। गहुँ लगाउने समयमा बिउ पाएपछि किसानहरूले थोरै भए पनि राहतकाे महसुस गरेका छन् ।

गत भदौमा आएको बाढीका कारण किसानले भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुर्‍याएपछि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले किसानहरूलाई अनुदानमा गहुँको बिउ वितरण गर्न सुरु गरेको हो । बाढीका कारण कामै नलाग्ने गरी पानीमा धान डुबेपछि किसानहरू चिन्तित भएका छन् । बजारमूल्य भन्दा आधा कममा पालिकाले बिउ दिँदा राहत भएको किसानको भनाइ छ ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई गहुँको बिउ वितरण गर्न थालेको हो । यस गाउँपालिकाका ८० प्रतिशत जनता कृषिमा निर्भर छन् । बाढीले ५० प्रतिशतभन्दा बढी धानमा क्षति पुर्‍याएको छ । धानमा क्षति व्यहोरेका किसानलाई प्राथमिकतामा राखेर सहुलियत स्वरूप बिउ वितरण गरिएको गाउँपालिका अध्यक्ष दीपक गुप्ताले बताउनुभयो ।

करिब १३ सय बढी किसानहरूलाई वितरण गर्न पालिकाले ३६ लाख ९६ हजारको बिउ खरिद गरेको छ । २८ सय बजार मूल्य रहेको बिउलाई अनुदानमा १४ सयमा दिइएको छ । किसानलाई विजय र भृकृटी जातको बिउ वितरण गरिएको हो ।

गहुँको बिउ बाहेक अन्य कार्यक्रम मार्फत पनि किसानहरूलाई सहयोग गर्ने सोच गाउँपालिकाको छ । बेमौसमी खेतीका लागि बिउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरण र अन्य सहुलियतका कार्यक्रम अघि सारेको अध्यक्ष गुप्ताको भनाइ छ ।

जिल्लाको २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । बाढीका कारण क्षति बढी भएकाले सबै पालिकाबाट विवरण आई नसकेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । बाढीका कारण धानमा नराम्ररी क्षति बेहोरेका किसानलाई क्षतिको विवरण यकिन गरी उचित क्षतिपुर्ति र आगामी वर्ष धानको बिउ निःशुल्क वितरण गर्नुपर्ने किसानहरूको माग छ ।