
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक छनोटका लागि पाँच सदस्यीय छनोट समिति गठन गर्ने भएको छ ।
मंगलबार भर्चुअल रुपमा बसेको संघको बोर्ड बैठकले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आईसीसीका प्रतिनिधि रहने क्यानले जनाएको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलपछि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीम प्रशिक्षकविहीन बनेको थियो । क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन् ।
यस्तै, बैठकले संघको विधानअनुसार ४ वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट संघहरूको अधिवेशन माघ ७, २०७८ भित्र सम्पन्न गर्न सम्बन्धित संघलाई निर्देशनसमेत दिएको छ । साथै बैठकले संघको आर्थिक कार्यविधि पारितसमेत गरेको छ ।
बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय गरेको छ । त्यसैगरी, पुस १४ र १५ गते क्यानले आफ्नो साधारण सभा गर्न निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्