४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

न्यायालयको विवादले निकास पाउनुपर्ने पाँच दलीय समन्वय समितिको निष्कर्ष


0
Shares

अक्कल कुँवर
काठमाडौं । सत्तारुढ गठबन्धनको पाँच दलीय समन्वय समितिले तत्काल न्यायालयको विवादले निकास पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

समिति गठनपछि पहिलो पटक मंगलबार बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल विवादले निकास पाउनुपर्ने निष्कर्ष निकालेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले राज्यको महत्वपूर्ण अंग न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सम्बन्धित सबैलाई पहलको लागि आग्रह पनि गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पदीय आचरणप्रति प्रश्न उठाउँदै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएसन प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेर आन्दोलन गरिरहेको छ । आन्दोलनका कारण न्यायिक प्रक्रिया अवरुद्ध भएको छ ।

यस्तै, बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समिक्षा गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय गरेको छ । समितिले आसन्न राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी, बाढिपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरूको पुनर्स्थापना लागि प्रभावकारी रूपमा काम अघि बढाएको दावी पनि गरिएको छ । समितिले पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रूपमा सेवा सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको निष्कर्ष पनि समितिले गरेको मन्त्री कार्कीले बताउनुभयो ।

समितिले गठबन्धन सरकारको निर्माणसँगै कोभिड १९ को रोकथामका लागि खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको, स्थिर सरकारको निर्माणसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरू तथा उद्यमीहरू उत्साहित भएको पनि समितिले जनाएको छ । बैठकले राष्ट्रियता, लोकतन्त्रको सम्वर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धनले मूल मन्त्र बनाएको दावीसमेत गरेको छ ।

पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउन भन्दै गठन गरिएको समितिको संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि उपस्थिति रहेको थियो । बैठकमा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको पनि सहभागिता रहेको थियो ।