
काठमाडौं । कोभिड–१९ का कारण हाल दैनिक एक–एक उडानमा सीमित भएको नेपाल–भारतबीचको उडानलाई चारगुनाले बढाउने गरी भारत सरकारले पत्राचार गरेको छ ।
तर त्यसको प्रारूप कस्तो हुने र कहिलेबाट थप उडानहरू सञ्चालन गर्ने भन्ने निर्णय हुन बाँकी छ । एअर बबल व्यवस्थाअन्तर्गत अहिले दुई देशका नागरिकहरू र अन्य देशका यात्रुको हकमा कूटनीतिज्ञहरू मात्र सहभागी हुन पाउने व्यवस्था थियो ।
साप्ताहिक दुवैतर्फबाट ५६ वटा उडान हुने भएकाले व्यवहारिक रूपमा एअर बबल हटे जस्तै हुनेछ ।
अहिलेसम्म दुवै देशबाट एक–एक गरी एक सातामा १४ वटा उडान भइरहेका छन् । यस्तो उडान अहिले काठमाडौं / नयाँदिल्ली रुटमा मात्र सीमित छ । नेपालले भने अब मुम्बई र बैंग्लोर समेत उडान विस्तारका प्रस्ताव गर्ने भएको छ । यी रुटमा विगतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो ।
गत शुक्रवार दिल्लीमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भारतीय नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य एम सिन्धियासँग एअर बबलको विषयसहित नेपाली उड्डयन क्षेत्रसँग सम्बन्धित तीनवटा कुरा उठाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्