१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जाेखिमपूर्ण बन्दै वैदेशिक रोजगारी : चार महिनामा ४ सय ६० जनाको मृत्यु, कारण रहस्यपूर्ण

श्रम सम्झौतामै पोस्टमार्टमको विषय समेट्नुपर्ने विज्ञको सुझाव

39
Shares

नारायणी लामिछाने
काठमाडौं । मन्त्री पिच्छे लहडीमा नयाँ–नयाँ कार्यक्रम ल्याउने क्रम नरोकिएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले थप समस्या झेल्नुपरेको छ ।

सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले विभिन्न देशसँग श्रम सम्झौता गरे पनि विदेशी भूमिमा कामदारको मृत्युदर हाम्रा लागि वैदेशिक रोजगारी मृत्युको मुखमा धकेल्ने कर्मजस्तै बनेको छ । सरकारी तथ्याङ्कअनुसार १३ वर्षमा करिब १० हजार नेपाली श्रमिक विदेशी भूमिमा ज्यान गुमाउन बाध्य छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार मलेसिया र साउदी अरब जाने श्रमिकको मृत्युदर बढी छ । ती देश नेपाली श्रमिकको प्रमुख गन्तव्य र रोजगारीको केन्द्र मानिन्छ । रोजगारीका लागि खाडी जाने नेपाली बढी कार्यस्थल दुर्घटनामा ज्यान गुमाउँछन् । आत्महत्याको दर त्यस्तै डरलाग्दो छ । यो अवधिमा १ हजार १ सयले आत्महत्याको बाटो रोजेका छन् ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामै ४ सय ६० जनाको मृत्यु भएको छ । यस्तै, २०६५ साल यता कात्तिक मसान्तसम्म ९ हजार ८ सय ८१ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा ९ सय ८७ जनाले ज्यान गुमाएका छन् । अघिल्लो वर्ष ८ सय १६ जना विदेशमै अन्तिम सास फेर्न बाध्य भए ।

कोरोना कहर २०७७ सालमा मृत्युदर बढाउने कारक ठहरियो । त्यतिमात्र होइन, अङ्गभङ्ग भई फर्किने नेपालीको संख्या पनि उत्तिक्कै छ । विदेशी भूमिमा सबैभन्दा बढी ज्यान गुमाउने कारण हृदयघात बनेको छ । दोस्रो आत्महत्या र तेस्रो कार्यस्थल दुर्घटना भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

यो तथ्याङ्क त्रिभुवन विमानस्थलबाट बाकसमा फर्किएकाहरूको हो । अनौपचारिक रूपमा बाहिरिएका नेपालीको संख्या अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । बोर्डका अनुसार १३ वर्षको अवधिमा २ हजार १ सय १७ जनाको हृदयघातका कारण मृत्यु भएको छ ।

तर, श्रम सम्बन्धी जानकारहरू नेपालीको शव मेडिकल जाँच समेत नगरी विमानस्थलबाट उम्काउन हृदयघात कारण बनाउने गरेको बताउँछन् । श्रम विज्ञ डा. गणेश गुरुङ मृत्युको कारण थाहा पाउन मृत्यु भएको छोटो समयमै पोस्टमार्टम गर्नुपर्ने सुझाव दिनुहुन्छ । श्रम सम्झौतामै पोस्टमार्टमको विषय समेटिनुपर्ने उहाँको भनाइ छ ।

विदेशिने युवाहरूले वैदेशिक रोजगारीमा जानुअघि एक पटक र रोजगारीमा पुगेपछि सम्बन्धित कम्पनीले गरी २ पटक मेडिकल जाँच गर्छन् । सोही आधारमा स्वस्थ प्रमाणित भएपछि मात्रै उनीहरू कामका लागि योग्य ठहरिन्छन् । तर, बढिरहेको मृत्युदरले भने त्यस्तो देखाउँदैन ।

रेमिट्यान्स भित्र्याउन र अर्थतन्त्र बलियो बनाउन विदेशिएका श्रमिकको प्रमुख भूमिका रहेको छ । तर उनीहरूको सुरक्षा र व्यवस्थित वैदेशिक रोजगारीका विषयमा भने सरकारी भूमिका कमजोर देखिएको छ ।