
अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको संस्थापन र इतर समूह प्यानल निर्माणको गृहकार्यमा जुटेको छ ।
प्यानलसँगै पार्टीको तेस्रो पुस्ताका नेताहरू आगामी महाधिवेशनबाट आफू कसरी स्थापित हुने भन्ने रणनीतिमा केन्द्रीत हुन थालेका छन् । पार्टीमा स्थापित हुन युवा पुस्ताका नेताहरू आफ्नो क्षमता र सामथ्र्यभन्दा पनि अग्रज पुस्तामा निर्भर देखिएका छन् ।
महाधिवेशनको सुनिश्चितता नहुँदै युवा नेताहरूबीच उम्मेदवारी घोषणाको प्रतिस्पर्धा चल्यो । केन्द्रीय सदस्य एवं युवा नेता कल्याण गुरुङले अग्रज पुस्ताका नेतालाई चुनौती दिँदै सबैभन्दा अगाडि पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभयो ।
यसपटकको महाधिवेशनमा युवा पुस्ताका नेताहरूको आकर्षण पार्टीको दोस्रो शक्तिशाली पद महामन्त्रीमा देखिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापाले महामन्त्रीमा दावेदारी गरिसकेका छन् ।
यस्तै, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारी, एनपी साउदलगायतका युवा पुस्ताका नेताहरू पनि महामन्त्री पदमा उम्मेद्वारी दिन अनौपचारिक तयारी गरिरहेका छन् । रमेश लेखक, मोहन बस्नेत लगायतका कतिपय नेताहरू भने अवसर आए पछि नहट्ने भन्दै आन्तरिक तयारी गरिरहेका छन् ।
महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गर्ने तयारीमा रहेका र अवसर कुरेर बसेका युवा पुस्ताका नेताहरू आफ्नो क्षमता र सामथ्र्यमा भने विश्वस्त नदेखिएको राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्की बताउनुहुन्छ । युवाहरू एक भएको अवस्थामा केन्द्रीय नेतृत्व थर्किने उहाँको भनाइ छ ।
हुन त कांग्रेसका पहिलो र दोस्रो पुस्ताका नेताहरूको तुलनामा तेस्रो पुस्ताका नेताहरूप्रति आम नागरिकको आशा र विश्वास देखिन्छ । तर, आफूप्रतिको आशा र विश्वासलाई तेस्रो पुस्ताका नेताहरूले पनि न्याय गर्न सकेका छैनन् ।
विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।
नेपाली कांग्रेसको महाधिवेशनमा उमेर ढल्केका पुस्ताको हालिमुहाली हुँदै गएको विगतको इतिहासलाई चुनौती दिँदै यसपटक युवा पुस्ताका नेताहरू उपस्थिति देखाउन खोजिरहेका छन् । तर, युवा नेताहरू एक रहर, अनेक कहरको अवस्थाबाट गुज्रिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्