
काठमाडौं । सरकारले कुकुरको टोकाइबाट सर्ने रेबिज भाइरसविरुद्ध दिइने रेबिज इम्युनोग्लोबुलिन औषधि सातै प्रदेशमा मंसिर ५ गतेबाट विस्तार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी सात प्रदेशका ९ अस्पतालबाट सेवा सुरु गर्न लागिएको जनाएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यसअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्र उपलब्ध हुने सेवा सातै प्रदेशमा विस्तार गरिएको जानकारी दिनुभयो ।
रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरिपरी सुईको माध्यमबाट लगाइने औषधि लगाएको ७ देखि १० दिनभित्र मात्र शरीरले एन्टिबडी बनाउने मन्त्री खतिवडाले बताउनुभयो ।
प्रदेश १ को कोसी अस्पताल, प्रदेश २ को जनकपुर र नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल्, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्न लागेको मन्त्रालयले जनाएको छ ।
नियमित खोप कार्यक्रमअन्र्तगत नै राखिएको यो औषधि सरकार आफैँले खरिद गरेर ल्याएको हो । कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेलले जीवनमा एक पटक मात्र लगाए पुग्ने यस औषधिले रेबिज भाइरसलाई निस्क्रिय गराउने हुँदा घाउको वरिपरी मात्र लगाइने बताउनुभयो ।
रेविजका कारण नेपालमा वर्षेनि १६ देखि २० जनाको मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले रेबिजविरुद्धको खोप धेरै कुकुरलाई लगाउनु नै रोग नियन्त्रणको उपाय भएको बताउनुभयो । सरकारले सन् २०३० सम्म रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्