१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जाली नोट छापिरहेको समूह प्रहरी नियन्त्रणमा


0
Shares

काठमाडौं । जाली नोट छापिरहेको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककी ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, १९ वर्षीय चिरञ्जीवी जोती, २३ वर्र्षी सुजन जोती र रामेछाप सिरुवारीका २६ वर्षीय समरोज थापामगर छन् ।

प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको हो । उनीहरूबाट ६५ हजार ३ सय ३५ रुपैयाँ बरामद भएको छ ।

महानगरीय प्रहरी बृत बौद्धका प्रमुख ढुन्डीराज न्यौपानेले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा जाली पैसा बोकेर सामान किनिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा १ सयको २९ थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी श्रेष्ठले दिएको बयानको आधारमा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिइएको थियो । पक्राउ पर्नेबाट प्रहरीले सक्कलीजस्तो देखिने १ सयका ५ सय र १ हजारको नोट बरामद गरेको थियो ।

जाली नोट कारोबारीहरुले एक सय दरको १५ सय थान नक्कली नोट बजारमा पठाइ सकेको प्रहरी अनुसन्धानबाट खुलेको बौद्ध प्रहरीले जानकारी दिएको छ । प्रहरीले जालीनोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेभिकोल, मोबाइल, लालीगुँरास छाप र कैंची बरामद गरेको छ ।