२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भोलिबाट सुरु, सातदोबाटो र फ्रेन्ड्स क्लबबीच खेल हुने


0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भोलिबाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल फ्लड लाइटमा खेलाईन एन्फाले जनाएको छ । उक्त खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरू हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगको पुच्छारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुने टिमले २५ लाख पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् ।

खेल बराबरीमा सकिए दुवै टोलीले २५÷२५ हजार पाउने छन् । लिगको पूर्व सन्ध्यामा सहभागी टिमका प्रशिक्षक र कप्तानले आफ्नो टोलीको तयारीबारे जानकारी दिएका थिए । प्रि–म्याच कन्फरेन्समा बोल्दै लिग खेल्ने अधिकांश टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।