२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाबा रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ हनुभयो : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ भएको बताउनुभएको छ ।

शुक्रबार पतञ्जली योगपीठ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउनुभयो । उहाँले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताउनुभयो ।

अध्यक्ष दाहालले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको बताउँदै अब कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो, नजिक भयौं, छलफल गर्न थाल्यौं, कताकता मलाई पहिला लाग्थ्यो उहाँ अलि बढी रुढीवादी, परम्परावदी हुनुहुन्छ होला भन्ने लाग्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर, छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ, त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो ।’

अध्यक्ष दाहालले थप्नुभयो, ‘रामदेवले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो, योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यताबाट महा उद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो । त्यसकारण बाबा रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ हुनुभयो ।’

टेलिभिजन उद्घाटनका लागि योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार काठमाडौं आउनुभएको थियो ।