
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताउनुभएको छ ।
शुक्रबार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताउनुभयो ।
‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरूलाई कानूनी कारबाहीको दायरा ल्याउने उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठले श्रमिकहरूलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पुर्याउन पहल गर्ने बताउनुभयो । सरकारले श्रमिकहरूको हकहितमा केन्द्रित रहेर केही विशेष निर्णय गर्न लागेको पनि बताउनुभयो । श्रमिकहरूको हक खोस्नेलाई कानुनी कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
मन्त्री श्रेष्ठले ठगिएका श्रमिकहरूको कुरा नसुनी कुनै मुद्दा नछिन्ने बताउँदै जतिसुकै दबाव आए पनि श्रमिकको सुरक्षा र हकहितमा लागिरहने प्रतिवद्धता जनाउनुभयो । उहाँले पीडितलाई न्याय दिलाउन र पिडकलाई कारबाही गर्न मन्त्रालय कटिवद्ध रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरूको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताउनुभयो ।
उहाँले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरूको भएको भन्दै कामदारहरूले न्यूनतम पारिश्रमिक पाउने व्यवस्थाका लागि पहल गरिरहेको समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्