१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंसहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च


0
Shares

काठमाडौं । पछिल्लो सातादेखि काठमाडौं उपत्यकालगायतका मुख्य शहरहरूमा वायु प्रदूषणको दर उच्च भएको छ ।

वातावरण विभागको तथ्याङ्कअनुसार काठमाडौं, पोखरा, सिमरा, विराटनगर, महेन्द्रनगरमा वायुको गुणस्तर अस्वस्थकर र हानिकारक देखिएको छ ।

वायुको गुणस्तर खस्किएसँगै स्वास्थ्यकर्मीहरूले प्रदूषित क्षेत्रका शहरबासीलाई विहान र साँझपख शारीरिक व्यायामका लागि बाहिर हिँडडुल नगर्न सुझाव दिएका छन् ।

सरकारले पार्टिकुलेट म्याटर २.५ आकारको वायुको मापदण्ड ४० माइक्रोग्राम परमिटर क्युवसम्मलाई स्वस्थकर भन्दै राष्ट्रिय मापदण्ड तोकेको छ । तर, यसैलाई विश्व स्वास्थ्य संगठनले भने २५ माइक्रोग्राम परमिटर क्युवलाई मात्र स्वस्थकरको मापदण्डभित्र राखेको छ ।

शनिबार विहान पोखरामा पार्टिकुलेट म्याटर २.५ आकारको वायुको गुणस्तर १ सय ८८ माइक्रोग्राम परमिटर क्युव प्रतिघण्टा पुगेको छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक रहेको विज्ञहरू बताउँछन् ।

विराटनगरमा १ सय ८४, काठमाडौंमा १ सय ७६ सिमरा १ सय ५३, रत्नपार्क १ सय ६९ र विरेन्द्रनगर १ सय ५ माइक्रोग्राम परमिटर क्युव पुगेको छ ।

बुधबारदेखि देशैभर मौसम बदली हुँदा वायु प्रदूषणको दर बढ्दै गएको छ । गत वर्ष काठमाडौं ४ सय माइक्रोग्राम परमिटर क्युवसम्म पुगेको विभागको तथ्याङ्क छ ।

चिसो बढेसँगै काठमाडौं उपत्यकालगायतका मुख्य शहरहरूमा फोहोर बाल्ने, दाउरा र गुइँठाजन्य बस्तु जलाउने गर्नाले वायु प्रदूषणको दर बढ्ने वातावरण विभागले जनाएको छ ।