
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले काठमाडौंलाई नमूना शहर बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण घटाएर सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको स्पष्ट पार्नुभयो ।
शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकामा बढेको प्रदूषण कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरूको प्रयोगमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैलाउने काम गरिरहेको ज्ञानमाला भजन खलः सबैको प्रेरणाको स्रोत बनेको उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पुर्याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरूको संरक्षणको कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्