
काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शानदार सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुवात गरेको हो ।
थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो ।
खेलको २२ औं मिनेटमा निशानले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन ।
च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
यस्तै, शनिबार नै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । संकटा र हिमालयनले १–१ गोलको बराबरी खेलेका हन् ।
लिग अन्तर्गत आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्