
डीबी विष्ट
बझाङ । गत कात्तिक महिनाको बेमौसमी वर्षाका कारण बझाङमा जनधनको ठूलो क्षति भयो । सबैभन्दा बढी क्षति खप्तड छान्ना गाँउपालिका र थलारा गाँउपालिकामा भयो । जग्गा जमीनसँगै बस्ने घरसमेत गुमाएका स्थानीयहरु सुकुम्बासी झै भएका छन् ।
एक महिनाअघि परेको अविरल वर्षासंगै आएको बाढी र पहिरोले बझाङको खप्तड छान्ना गाँउपालिकाका, थलारा गाँउपालिका, छविसपाथिभेरा गाँउपालिका र विथ्थडचिर गाँउपालिकामा १२ जनाको मृत्यु भयो भने २० जना बेपत्ता भए । यस्तै ९ सय ५६ परिवार विस्थापित हुन पुगे । जसमध्ये २ सय २० घर पुर्ण रुपमा क्षति भए भने ६ सय ४६ घर आंशिक रुपमा क्षति भए ।
बाढी र पहिरोकै कारण लाखौका भौतिक संरचना तथा खेतीयोग्य जमिन बगरमा परिणत भयो । घरजग्गा सबै गुमाएका स्थानीयलाई अहिले गाँस, बास र लत्ताकपडाको जोहो गर्न समस्या भएको छ । विद्यालयमा आश्रय लिएर बसेका उनीहरुले अहिलेसम्म राहतका नाममा चामल, नुनतेल, सामान्य भाँडाकुडा र ओड्ने एकसरो लुगाबाहेक केही नपाएको खप्तड छान्ना गाँउपालिका– ५ की बुदी विष्टको गुनासो छ ।
खप्तडछान्ना गाँउपालिका– ५ का ९ परिवार अहिले क्याम्पसमा आश्रय लिएर बसेका छन् । जग्गा जमिन पहिरो र बाढीले बगाएपछि घर चलाउन कठिन भएकाले अब सरकारले छिटै बसोबासको व्यवस्था गरि दिनुपर्ने उनीहरुको भनाइ छ ।
यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने पीडित परिवारलाई तत्कालै सरकारले प्रति परिवार २० हजारका दरले राहत उपलब्ध गराइसकेको बताउनुभयो । अहिले विपद व्यवस्थापन प्राधिकरणले तयार पारेको क्षतिको विवरण सफ्टवेयरमा इन्ट्री गर्ने काम भइरहेको र तत्काल पुर्ण रुपमा घर क्षति भएका लागि ५० हजार रुपैयाँ र किस्ताबन्दीमा घर निर्माण गर्नका लागि ४ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने बताउनु भयो ।
अहिलेसम्म बाढी पहिरोबाट प्रभावित भएका १ सय ९५ परिवारले २० हजारका दरले राहत पाइसकेको तथ्याङक जिल्ला प्रशासन कार्यालय बझाङमा छ । यस्तै मृतकका परिवारका सदस्यले पनि राहत पाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्