
काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ ।
कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् ।
कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन् । दोस्रो मत नपाए अन्य उम्मेदवारहरू त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस्नुपर्छ ।
‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ,’ कांग्रेस विधानमा उल्लेख छ ।
कांग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभागसम्बन्धी व्यवस्थाको विभागहरूको काम, कर्तव्य र अधिकारअन्तर्गत ६५ नम्बर बुँदामा सोसम्बन्धी स्पष्ट व्यवस्था उल्लेख छ । कांग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भएअनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय समितिमा सदस्यका रूपमा रहने प्रस्ट व्यवस्था रहेको बताए ।
राजधानी
प्रतिक्रिया दिनुहोस्