
एजेन्सी । अमेरिकाको विस्कोन्सिन राज्यको वाकेशा शहरमा क्रिसमस परेड भईरहेको बेला एउटा एसयुभी कार भीडमा जथाभावी दौडिंदा दर्जनौं घाइते भएका छन् । घटनामा थुप्रै हताहत भएको आशंका गरिए पनि यकिन संख्या आउन सकेको छैन ।
कम्तिमा २८ जनालाई उपचारका लागि भर्ना गरिएको र ती मध्ये १५ जना बालबालिका भएको स्थानीय अस्पतालले जनाएको छ । क्रिसमस परेड भईरहेको बेला स्थानीय समय अनुसार आइतबार साँझ एउटा एसयुभी स्पोर्टस् कार भीडलाई ठक्कर दिंदै दौडिएको थियो ।
१३ जनाको उपचार गरिरहेको अर्को अस्पतालले घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । वाकेशा शहरको प्रशासनले घटनामा थुप्रै घाइते भएको जनाए पनि घाइते र हताहत हुनेको यकिन विवरण दिएको छैन ।
घटनालाई आतंकवादी आक्रमणसंग जोडेर एफबीआईको सहयोगमा स्थानीय प्रशासनले छानविन अघि बढाएको छ भने घटनामा प्रयोग भएको कार नियन्त्रणमा लिइएको छ ।
स्थानीय प्रहरी प्रमुखले अनुसन्धान निकै तरल अवस्थामा रहेको बताएका छन् । घटनामा संलग्न रहेको आशंकामा एक ब्यक्तिलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको शोकमा स्थानीय प्रशासनले सोमबार सो शहरभरिका विद्यालय बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस्