
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवाष नेम्वाङले सोमबार आन्दोलनरत नेपाल बार एशोसिएसनको ज्ञापन पत्र बुझ्दै सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन नगर्न सरकारलाई सचेत गराउनुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको नेपाल बार एशोसिएशनको आन्दोलनलाई लक्षित गरेर सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ । त्यसो गर्नु दुःखद् घटनाको भएको उपनेता नेम्वाङले प्रतिक्रिया दिनुभयो ।
नेम्वाङले न्यायालयबारे नेपाल बार एशोसिएसनले उठाएको मुद्दा गम्भीर भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतले आफूहरूले दिएको रिटको समेत सुनुवाई नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्