
प्रदिप पौडेल
पोखरा । कास्कीमा भएको कांग्रेसको चुनावको बेग्लै तामझाम छ । कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा जिल्ला, क्षेत्रका चुनावहरुले त कांग्रेस पार्टीलाई तताएको त छ नै त्यसमाथि आन्तरिक चुनावका क्रममा देखिएको तामझामले आम निर्वाचनकै झल्को दिएको छ ।
नेपाली कांग्रेसको १४ महाधिवेशनको तिथिमिति जति नजिकिदो छ त्यति नै कांग्रेसको चुनावी माहोल तातिदो छ । यहि महाधिवेशन अन्तर्गत कास्कीका तिन ओटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनले त झन सबैमा आमनिर्वाचनकै झल्को गराएको छ ।
कास्कीमा यसअघि एमाले, माओवादी केन्द्र र राप्रपाले वडा, जिल्ला र प्रदेश तहका निर्वाचन सम्पन्न गरे पनि कांग्रेसको जस्तो तामझाम देखिएको थिएन । माओवादी र एमालेले कांग्रेसले जस्तो लोकतान्त्रिक प्रक्रियाबाट मतदान नै नगरी सर्वसम्मत्को हवाला दिँदै प्रतिनिधि छाने । भोट माग्ने माग्दा छन्, प्रचार प्रसार गर्ने गर्दा छन बेग्लै छ माहोल ।
आमनिर्वाचनकै झल्को दिने गरी उम्मेदवारले यसरी नमस्कार र अभिवादन गर्दै मतदाता फकाइरहेका देखिन्छ । सामाजीक सञ्जाललाई पनि यस पटक भने भरपूर प्रयोग गरेको पनि देखिन्छ । केही उम्मेदवारहरुले ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि आफ्नो पक्षमा भोट मागिरहेका थिए । जिल्लामा करिब ३ सय बढी उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धामा छन् । पार्टी निर्वाचनलाई जस्तै गरी आमनिर्वाचन र स्थनिय र प्रदेश तहमा उत्साहा देखिए काँग्रेसले कुनै निर्वाचन पनि नहार्ने कास्की कांग्रेसका नेता सोभियतबहादुर अधिकारीको आंकलन छ ।
कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्व सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानल बिच प्रतिस्पर्धा छ । क्षेत्र नम्बर २ मा नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरि प्यानल बनेको छ ।
नेतृत्वमा आउनका लागि यो अधिवेशनमा बढी आकर्षण युवाहरूको देखिएको छ । पार्टीमा देखिएको यो आकर्षणले पार्टी अझ उन्नत र गतिशील बनाएर मुलुकलाई समुन्नतिको गन्तव्यमा लैजान महत्वपूर्ण भूमिका खेल्ने काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्काले बताउनुभयो । कांग्रेसमा देखिएको गुटगत प्रतिस्पर्धा र तामझाम चुनावपछि सकिन्छ कि यसको परिणाम आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा पर्छ ? त्यो त हेर्न बाँकी नै छ । तर, यस्तो तडकभडकले कार्यकर्ताहरुलाई भने चिन्तित नै बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्