
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनुभएको छ ।
बझाङका जनप्रतिनिधिले मंगलबार उहाँलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले बझाङमा ठूलो जनधनको क्षति भएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले विपद् लगत्तै आफैँ स्थलगत अध्ययनमा गएको र त्यहाँको अवस्था अवलोकन गरेको बताउनुभयो । उहाँले खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल गर्नुपर्ने भन्दै बाढीपहिरोले कतिपय स्थानमा राजमार्ग नै पूरै बगाएकाले नयाँ र दिगो बाटो बनाउन दातृ निकायसँग कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री देउवालाई बझाङस्थित सबै दलका संघीय संघीय र स्थानीय जनप्रतिनिधिले सामूहिक रूपमा भेटेर बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे अवगत गराउँदै आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउनुभएको थियो । बाढीपहिरोमा परी बझाङमा ३१ जनाको ज्यान जानुका साथै बाढीपहिरोले नदी तथा खोला किनाराका हजारौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्