
प्रदीप पौडेल
पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको तिथिमिति जति नजिकिदो छ, त्यति नै कांग्रेसको चुनावी माहोल तातिँदो छ । महाधिवेशन अन्तर्गत कास्कीका तीन ओटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनले त झन् सबैमा आम निर्वाचनकै झल्को दिएकाे छ ।
कास्कीमा यसअघि एमाले, माओवादी केन्द्र र राप्रपाले वडा, जिल्ला र प्रदेश तहका निर्वाचन सम्पन्न गरे पनि कांग्रेसको जस्तो तामझाम देखिएको थिएन । माओवादी र एमालेले कांग्रेसले जस्तो लोकतान्त्रिक प्रक्रियाबाट मतदान नै नगरी सर्वसम्मत्को हवाला दिँदै प्रतिनिधि छाने ।
भोट माग्ने माग्दै छन्, प्रचार-प्रसार गर्नेकाे आफ्नै सुरले माहाेललाई आम निर्वाचन झैँ बनाइदिएकाे छ । उम्मेदवारले नमस्कार र अभिवादन गर्दै मतदाता फकाइरहेका देखिन्छन् । अधिवेशनमा सामाजिक सञ्जालकाे पनि उम्मेदवारहरूले भरपूर प्रयाेग गरे । केही उम्मेदवारहरूले ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि राखेका थिए ।
जिल्लामा करिब ३ सय बढी उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धामा छन् । पार्टी निर्वाचनलाई जस्तै गरी आमनिर्वाचन, स्थानीय र प्रदेश तहमा उत्साह देखिए कांग्रेसले कुनै निर्वाचन पनि नहार्ने कास्की कांग्रेसका नेता सोभियतबहादुर अधिकारीको आंकलन छ । आफूहरूकाे पार्टी बलियाे भएकाे दाबी गर्दै उहाँले तीनै तहका निर्वाचनमा कांग्रेसले कब्जा गर्ने जिकिर गर्नुभयाे ।
कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्व सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा छ । क्षेत्र नम्बर २ मा नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरि प्यानल बनेको छ ।
नेतृत्वमा आउनका लागि युवाहरूकाे पनि बढ्दाे आकर्षण देखिएको छ । पार्टीमा देखिएको युवा आकर्षणले पार्टी अझ उन्नत र गतिशील बन्ने शीर्ष नेताहरूकाे भनाइ छ । युवाकाे जाेशले मुलुकलाई समुन्नतिको गन्तव्यमा लैजान महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्का बताउनुहुन्छ ।
कांग्रेसमा देखिएको गुटगत प्रतिस्पर्धा र तामझाम चुनावपछि सकिन्छ कि यसको परिणाम आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा पर्छ ? त्यो त हेर्न बाँकी नै छ । तर, यस्तो तडकभडकले कार्यकर्ताहरूलाई भने चिन्तित नै बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्