
सुरेन्द्र भण्डारी
झापा । प्रदेश एकमा नेपाली कांग्रेसको अधिवेशन गराउन नेता कृष्णप्रसाद सिटौलालाई पार्टीले जिम्मेवारी दिएसँगै यो प्रदेशको निर्वाचनलाई महत्वकासाथ हेरिएको छ । आफ्नै गृह जिल्ला झापामा आफ्नो वर्चश्व बनाएका सिटौला प्रदेश एकको निर्वाचन आफ्नो पोल्टामा पार्ने दाउमा छन् ।
त्यसो त झापाको १० वटा प्रदेश क्षेत्रको सम्पन्न अधिवेशनमा ७ वटामा आफ्नो पक्षले जित हासिल गरेको सिटौला पक्षले दावी गरेको छ । झापाको क्षेत्र नं. १ को ‘ख’, क्षेत्र नं. ५ को ‘क’ र ‘ख’ मा विश्वप्रकाश समूहले जितेको र त्यसबाहेक सबैमा आफ्नो बर्चस्व रहेको सिटौला पक्षको दावी छ ।
प्रदेश क्षेत्रको अधिवेशनमा झापा क्षेत्र नं. १ ‘ख’ मा निर्वाचित सन्तोष न्यौपाने शर्मा समूहका हुन् भने क्षेत्र नं. १ ‘क’ मा निर्वाचित सभापति हरिबहादुर बुढाथोकी सिटौला पक्षका नेता हुन् ।
झापा, क्षेत्र नं. २ ‘क’ मा लक्ष्मीप्रसाद आचार्य, क्षेत्र नं. २ ‘ख’ मा किरण श्रेष्ठ, क्षेत्र नं. ३ ‘क’ मा चिन्तामणि खरेल, क्षेत्र नं. ३ ‘ख’ मा तुलसीप्रसाद ओली, क्षेत्र नं. ४ ‘क’मा विनोद ढकाल, क्षेत्र नं. ४ ‘ख’मा ख्यामराज सिटौला समेत सिटौला पक्षका हुन् ।
यता, झापा क्षेत्र नं. ५ ‘क’ मा निर्वाचित सभापति जीवनकुमार राई र क्षेत्र नं. ५ ‘ख’ मा निर्वाचित सभापति रवि केसी शर्मा समूहका हुन् । झापामा सिटौला पक्ष नै विगतदेखि नै हावी रहँदै आएको इतर समूहका नेताहरू भगीरथ पोद्दार र राम कट्टेलले समेत स्वीकार्दै आएका छन् ।
जिल्लाका सबै प्रदेश क्षेत्रबाट पदाधिकारी र प्रतिनिधि गरी झण्डै २ सय ४० जना चयन भएका छन् । त्यसमध्ये ७० प्रतिशत आफूनिकट रहेको सिटौला पक्षको दावी छ । त्यसो त प्रदेश एकको सभापति पदका लागि केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र जिल्ला सभापति उद्धव थापाको चर्चा छ ।
जिल्ला सभापति पदका लागि सिटौला समूहका देउकुमार थेवे र शर्मा समूहबाट राम कट्टेलले उम्मेद्वारी दिने निश्चित भएसँगै झापा कांग्रेसमा सहमतिय प्रणालीबाट नेतृत्व चयन हुन निकै गाह्रो पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्