
चितवन । नेकपा (एमाले)को आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई चुस्त पारिने भएको छ ।
महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।
नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताएका छन् ।
महाधिवेशनका लागि नवलपुरको गैंडाकोटमा मात्रै नेपाल प्रहरीको एक सय, चितवनतर्फ ८ सय सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४ सय ५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको जानकारी दिनुभयो ।
नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैंडाकोटमा रोकिने जनाउँदै उहाँले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रूपमा प्रयोग गर्ने बताउनुभयो ।
मंसिर ९ गते रातिबाट नै पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम भइरहेको छ ।
महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।
प्रजिअ तामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते विहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटनस्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने बताउनुभयो ।
महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्