
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशनमा आफूले कसैलाई करकापमा पारेर सहमतिमा ल्याउने प्रयास नगर्ने प्रष्ट पार्नुभएको छ ।
काठमाडौंमा मंगलबार आयोजित सञ्चारमाध्यमका सम्पादकहरूसँगको अतर्क्रिया उहाँले पदाधिकारीमा सहमति गर्नका लागि पनि आग्रह नगर्ने बताउनुभयो ।
मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको हुने भएकाले केही नबोल्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एमालेभित्र एउटै पक्ष भएकाले चुनाव लडेर भोट ल्याउनुपर्ने र त्यही नै पार्टीभित्रको व्यवस्थापन हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले महाधिवेशनमा आफूले उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको भन्दै भीम रावलको अध्यक्षमा दावेदारीलाई आफूले चुनौतीको रूपमा नलिएको बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनमा पार्टीका रूपमा बोलाउन नसकिने टिप्पणी गर्नुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भइरहेको विरोधप्रति लक्षित गर्दै उहाँले कुनै अमुक व्यक्तिले राजीनामा दिँदैमा न्यायालयको शुद्धीकरण नहुने जिकिर गर्नुभयो । सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने उहाँको तर्क थियो ।
अध्यक्ष ओलीले नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्