१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षा र स्वास्थमन्त्रीबीच छलफल, विद्यार्थीलाई खोप लगाउने विषयमा छलफल


0
Shares

काठमाडौं । १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गर्नुभएको छ ।

मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गनुभएको हो । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

छलफलपछि स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिँदै आउने वित्तिकै विद्यार्थीेलाई दिइने बताउनुभयो । मन्त्री खतिवडाले ३ करोड २० लाख डोज खोप पाइपलाइनमा रहेको पनि जानकारी गराउनुभयो ।

१२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन । १२ वर्षमाथिका बालबालिकाका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् ।

९ देखिमाथि उमेर समूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिनुभयो ।