
काठमाडौं । विभिन्न पेशागत तथा नागरिक संस्थाहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाउन माग गर्दै ‘बालुवाटार न्याय मार्च’ गर्ने भएका छन् ।
नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले मंसिर ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म न्याय मार्च गर्ने घोषणा गरेका हुन् ।
उनीहरूले प्रधानन्यायाधीश जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्न माग गरेका छन् ।
‘न्यायिक क्षेत्रलाई बिथोल्ने र दमनकारी चरित्र समेत देखाउने न्याय प्रशासनको नेतृत्वको एकपछि अर्को व्यवहारले प्रधानन्यायाधीश जबराको अविवेकी चरित्र मात्रै उजागर गरेको छैन, राजनीतिक प्रशासनिक नेतृत्वको अन्यायी प्रवृत्ति पनि छलंड्ग पारेको छ,’ पेशागत महासंघहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
गठबन्धन सरकारले न्यायपालिकाको प्रतिष्ठा गिराएर कानुन व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा हरियारधारी दंगा प्रहरी परिचालन गरी सर्वोच्च अदालतलाई युद्धग्रस्त क्षेत्रजस्तै बनाएको पेशागत संगठनहरूको आरोप छ ।
उनीहरूले न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्