
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन र प्रचारका लागि पर्चा पम्प्लेट छाप्न रोक लगाइएको छ ।
उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य सामग्रीहरू सार्वजनिक गरेमा महाधिवेशन निर्वाचन आयोगले कारबाही गर्ने भएको छ ।
महाधिवेशन प्रतिनिधिले सर्वसम्मत चयन गर्न नसकेको अवस्था आयोगको तर्फबाट निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो ।
सुब्बाका अनुसार ११ मंसिरमा उम्मेदवारी दर्ता र सोही दिन फिर्ता लिने कार्यक्रम रहेको छ । यस्तै, मंसिर ११ गते बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने १२ मंसिरमा मतदान सुरु हुनेछ ।
आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीन वटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिने छ ।
एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन हुन्छ । १५ जना पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्