१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२२ वर्षीया युवतीको हत्या आरोपमा श्रीमान् पक्राउ

ट्याक्टरमा हालेर अन्तिम संस्कारका लागि लैजाँदै गर्दा नियन्त्रणमा

0
Shares

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ५ तेनुहवाकी २२ वर्षीया युवती बन्दना पासीको हत्याको आरोपमा उनका श्रीमान्लाई पक्राउ परेका छन् ।

शवलाई ट्याक्टरमा राखेर अन्तिम संस्कारका लागि लैजाँदै गरेको अवस्थामा देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । मृतकको ढाडको १२ ठाउँमा घाउचोट देखिएकाले श्रीमान् गणेश पासीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘निधारमा कोतरिएको र ढाडको १२ ठाउँमा बोधो वस्तुले प्रहार गरेजस्तो घाउचोट देखिएकोले श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।

मृतकका श्रीमान्सँगको सामान्य सोधपुछमा घरको भर्‍याङबाट लडेर मृत्यु भएको बताएका थिए । तर, घरको अवस्था हेर्दा त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान्ले भर्‍याङबाट लडेर मृत्यु भएको बयान दिए पनि घरको अवस्था हेर्दा त्यस्तो देखिँदैन,’ प्रहरी नायब उपरीक्षक पौडेलले भन्नुभयो, ‘मृतक र उनका श्रीमान् सुत्ने कोठामा सामानहरू यत्रतत्र छरिएको, मोबाइलको टुक्रा र फुटेका चुरा फुटेर छरिएको, मृतकका कपडा बोरामा हाली जलाउन लगिएको र बोरा भित्रको चुन्नीमा रातो रगत जस्तो पदार्थ लागेको थियो ।’

घटनास्थल तथा शवको सामान्य जाँच गरी पोस्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीको भनाइ छ ।

मृतकको श्रीमानसँगै ट्याक्टरमा रहेका राजु पासी भने भागेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।