
हरि शर्मा
परासी । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजरगर्दै बुटवल–नारायणगढ सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ ।
दाउन्नेमा हुने जामलाई मध्यनजरगर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको नवलपुरमा सम्पन्न बैठकले बिहीबार साँझ ६ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।
विशेष गरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । साँघुरो र उकालो/ओरोलो सडक रहेको दाउन्नेमा मालवाहक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनका व्यवस्था गरिएको छ ।
लुम्बिनी, कर्णाली र सुदूपश्चिम हुँदै आउने मानिस दाउन्ने सडकहुँदै जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
दाउन्ने सडकको अवस्थाका कारण मालबहाक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रूपमा रोक लगाइएको छ । बुटवल हुँदै काठमाडौं जाने यात्रुबहाक बस र निजी गाडीलाई समेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो ।
पूर्वपश्चिम भएर जाने सवारीसाधनलाई बिहीबार साँझदेखि नै रुपन्देही र गैंडाकोटबाट रोक लगाइने छ । आवतजावतमा थप सहजता ल्याउन चारवटै सुरक्षा निकायका २ जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको मिश्रले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्