१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले महाधिवेशनमा एम्बुलेन्स र दमकल सञ्चालनमा समेत चुनौती, यी स्थानमा पैदलै हिड्नुपर्ने


13
Shares

डोलराज रानाभाट
चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेका नेता कार्यकर्ता चितवन आइपुग्ने क्रम सुरु भएको छ ।

शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट एमालेका नेता कार्यकर्ता उपस्थित हुने भएपछि सुरक्षा र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

पहिलो उद्घाटन सत्रमै सुरक्षा व्यवस्था केन्द्रीत गर्नेगरी जिल्लामा सुरक्षा योजना बनेको छ । सबैभन्दा बढी जोड ट्राफिक व्यवस्थापनलाई दिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

कार्यक्रम उद्घाटनको विहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म पूर्ववाट आउने सवारी पारस बसपार्क, पश्चिमबाट आउने सवारीलाई गैंडाकोटमै, काठमाडौं पोखराबाट आउने सवारीलाई आँपटारीमै रोकिने भएको छ ।

अत्यावश्यक सवारी बाहेक यो त्रिकोणात्मक क्षेत्रमा पैदलनै हिँड्नुपर्ने र सवारी प्रवेशमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउनुहुन्छ । तर, सवैभन्दा चुनौती नारायणी पुलमा देखिएको छ ।

पूर्वपश्चिम राजमार्ग जोड्ने एकमात्र सडक नारायणी पुल मात्र भएकाले एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी आवतजावतमा समस्या हुने देखिएको छ । यद्यपि सुरक्षा योजनाअनुसार पुलमा कसैलाई बस्न नदिइने र पुलबाट शिवघाटको बाटो हुँदै गन्तव्यमा पुर्‍याइने तामाङको भनाइ छ ।

त्यस्तै, प्रहरीले भीआईपी र भीभीआईपी पाहुनाहरूलाई छुट्टै सवारी मार्गको व्यवस्था मिलाएको छ । प्रधानमन्त्री समेतलाई मार्ग तयार पारिएको र ट्राफिक व्यवस्थापनसहित अन्य पूर्ण सुरक्षालाई समेत ध्यान दिइएको चितवनका प्रमुख जिल्ला अधिकारी तामाङ बताउनुहुन्छ ।

एकीकृत रणनीतिक सुरक्षा योजना अनुसार थप सुरक्षाकर्मीको माग गरिएको छ । तामाङका अनुसार ८० देखि ९० जना ट्राफिक, सशस्त्र प्रहरीबाट ३ सय ३३ जना, करिव ४ सय नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका समेत जनशक्ति थप माग गरिएको छ ।

महाधिवेशन र जिल्लाको अन्य सुरक्षाका लागि छुट्टाछुट्टै समूह बनाएर काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।