२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बाेधन गर्ने


0
Shares


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेकपा (एमाले)को १०औं महाधिवेशनलाई सम्बोधन गर्नुहुने भएको छ ।

एमाले महाधिवेशनलाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान चितवन जानुहुने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नारायणगढस्थित नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नुहुनेछ । महाधिवेशनलाई सम्बाेधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडाैं फर्कनुहुनेछ ।

एमाले महाधिवेशनलाई सम्बाेधन गर्न अन्य दलका नेताहरू पनि चितवन पुग्दैछन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर लगायतका नेता पनि उद्घाटन सत्रमा सहभागी हुनेछन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पनि एमाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने राप्रपा नेता मोहन श्रेष्ठले ईमेजखबरलाई जानकारी दिनुभयाे ।

निमन्त्रणा पठाए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भने जाने र नजाने भन्नेमा टुंगाे लागिसकेकाे छैन । एमालेबाट फुटेर बनेकाे माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भने एमालेले निमन्त्रणा गरेकाे छैन ।

एमालेको दशौं महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र भने सौराहमा हुने एमालेले जनाएकाे छ । महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।