२२ चैत्र २०८१, शुक्रबार | Sat Apr 5 2025


फरक धारको विवेकशील–साझा र विदेश जाने युवा !


0
Shares

पेशल आचार्य
यतिखेर विवेकशील साझा पार्टी सो पार्टीका नेता रवीन्द्र मिश्रको राजसंस्था, हिन्दूधर्म र जनमत सङ्ग्रहका बारेमा प्रकट भएका अभिव्यक्तिका कारण धेरै मानिसहरूको चासोको केन्द्रमा रहेको छ । यतिका वर्षसम्म उपरोक्त विषयहरूमा मौन रहेर सो पार्टीका नेता रवीन्द्र मिश्रले यतिखेर यस्ता विवादास्पद अभिव्यक्ति प्रकट गर्नुमा केही रहस्य पक्कै रहेको पाइएको छ ।

आन्तरिक राजनीतिका गुत्थीहरू त समयले बिस्तारी पहिल्याउँदै जाला तर जुन रूपमा अहिले नेता रवीन्द्रका अभिव्यक्तिको फ्लेभर जनमानसमा ह्पात्तै गएको छ त्यो भने सकारात्मकभन्दा अलि बढी नकारात्मक नै रहेको पाइएको छ । जानकारहरूका विश्लेषणमा यतिखेर युवा मतदाताहरू असाध्यै संवेदनशील रहेका र तिनीहरू हरेक ठूलासाना पार्टीका नेताहरूका अभिव्यक्तिलाई कोण प्रतिकोणबाट अथ्र्याएर आफ्नो जीवनसँग तुलनासमेत गरिरहेका छन् ।

यसो किन हुन्छ भनेर जिज्ञासा राख्दा ‘जनताले खोजेजस्तो सुशासन केन्द्र, प्रदेश र स्थानीय तहबाट सिष्टम बसाउने गरी डेलिभरी हुन नसकेको’ भन्ने नै अभिमत विज्ञहरूको रहेको छ । यतिखेर जनताको चाप पर्ने अड्डाहरूमध्ये यातायात, रोजगार प्रबद्र्धन केन्द्र र श्रम विभागमा नागरिकका कामहरू समयमा नभएका र विचौलिया तथा माफियाहरू एक वा अनेक स्वरुपमा हावी भएको पाइन्छ । यसो हुनुमा सरकारी संयन्त्र नै कुनै न कुनै रुपमा दोषी हुनु हो ।

विधि र प्रविधिलाई पछ्याएर तुरुन्तातुरुन्त कामहरू सम्पन्न हुनु पर्नेमा धेरै लामो प्रतीक्षा गर्दा समेत काममा शीघ्रता र चुस्तता हुन नसकेका थुप्रै चित्रहरू भेटिन्छन् जसले गर्दा नागरिकहरू सेवा प्रदायक संस्थाहरूप्रति दिनानुदिन रूष्ट बन्दै गएका छन् । यो कुरालाई नयाँ पार्टीका युवा र होनहार नेताहरूले चिर्न सक्नु पर्छ’ भन्ने मान्यता आम नागरिकहरूले राखेका छन् ।

यसरी नेताहरूले सोच विचारै नगरी बोलिने कुराहरूको राजनीतिक वेभ कतिसम्म पर जान्छन् र कस्तो असर हुन्छन् भन्ने कुरा मिश्रले राम्ररी नै आँकलन गरेका छन् तर पनि जुन तप्काले उनीप्रति सुनौलो भरोसाका आसमा हेरेका थिए त्यो वर्ग भने सारै निराश भएको स्थिति छ । एक त राजनीतिमा सामान्यभन्दा सामान्य अभिव्यक्तिहरूका धेरैथरी माने मतलव लगाइने गरेको दृश्य हाम्रोजस्तो बेरोजगार र अराजक भीड भएको मुलुकमा विवेक साझाका नेता रवीन्द्र मिश्रले नसोची बोलेका हुन् भने आगामी निर्वाचनमा उनको त्यो बोलीले लाखौं मतदाताहरूलाई नकारात्मक प्रभाव नपार्ला भन्न सकिन्नँ ।

उनले सार्वजनिक मञ्चहरूमा बारम्बार एउटै कुरा भनिरहेका हुन्छन् । त्यो हो –‘विचारभन्दा माथि देश ।’ यसको अन्तर्य के हो त ? विचारभन्दा माथि देश कसरी हुन्छ ? अवैचारिक रूपले देश र देशभित्र क्रियाशील रहेको सिष्टम कसरी चल्छ ? जो कोही नेताले पार्टी स्थापनाका लागि सबैभन्दा पहिले दर्शन बनाउन सक्नुपर्छ ।

अनि त्यो दर्शनबाट सिष्टमको परिकल्पना हुन्छ । सिष्टम भनेकै विचारभित्र रहने वैज्ञानिक कार्य प्रणाली हो । तर नेता मिश्रका मुखारविन्दबाट जहिल्यै एउटै आवाज आइरहेको हुन्छ –हिन्दू धर्म र धर्म निरपेक्षता बारे जनमतसङ्ग्रह गरौं । एउटा नेताले कहिल्यै पनि राजनीतिक एजेन्डा विनाका बोलीहरू पब्लिक्ली ल्याउँदैनन् । ल्याइहालेमा त्यसको जष्टिफाइ हुनसक्नु पर्छ । नत्र जनताले विश्वास गर्ने ठाउँ रहँदैन ।

जनमत सङ्ग्रहमा जाने कुराहरूका बारेमा आम राजनीतिक पार्टीहरूका बीच घनिभूतरूपमा छलफल हुनुपर्छ । सबैले सो एजेन्डालाई मान्नुपर्छ अनि मात्र जनमत सङ्ग्रहको माग पूरा हुन्छ । एउटा पनि संसद सदस्य नभएको पार्टीले बारम्बार एउटै आवाजमा कराउनुको के तुक रहन्छ ? यो कुरा उनले राजनीतिक रूपले स्पष्ट पार्नु पर्ने हुन्छ । नत्र भने नागरिकका दृष्टिमा उनको अभिमत झन्झन् कमजोर हुँदै नजाला भन्न सकिन्नँ । पछिल्लो समय त्यही भएको छ, मिश्रवाणीबाट राजतन्त्र विरोधी उनकै भोटरहरू पनि क्रमशः तर्सिरहेका छन् । यसमा उनले हेक्का राख्नुपर्छ ।

पत्रिकामा पाठकको मन छुने गरी लेख्नु र राजनीतिमा सुदूर भविष्यसम्म देख्नु उही मापनको सवाल कसैगरी हुन्न । उसो त राजनीति सबै दर्शनको माउ हो । तपाईंका पिजाजी मनुजबाबु मिश्र यो देशकै विख्यात कलाकार हुनुहुन्थ्यो । वहाँले आफ्नो कला यात्रामा अनेकन प्रयोगहरू समेत गर्नुभएको जगजाहेर छ ।

विराटनगरस्थित जनता रङ्गशालाको पर्खालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको आजसम्मकै ठूलो पर्खाल चित्र बनाउने तपाईंकै पिताजी हुनुहुन्थ्यो । उहाँ पक्का राजावादी र राजसंस्थाको कट्टर समर्थक हुनुहुन्थ्यो ।

उहाँले २०४६ सालमा बहुदल आउँदाखेरी यो बहुदललाई हृदयदेखि नै नस्वीकारेर आफ्नो घर काठमाडौँ बौद्धनाथमा रहेको हर्मिताज भन्ने स्थानको कलाकुटीमा करिबकरिब एकान्तवास गरेर तीसौं वर्ष बिताउनु भयो । उहाँ देशविदेशमा कला प्रदर्शनी गर्नुहुन्थ्यो तर कोही कसैलाई केही निम्ता या आमन्त्रण नगरी औपचारिकताको निर्वाह नगरी विदेश समेत जानुहुन्थ्यो ।

उहाँ स्वदेश घुम्थे तर बहुदल र बहुदले संस्कृति मान्नेहरूसँग उहाँको औपचारिक भेटाघाटा कहिल्यै भएन । यो उहाँको पञ्चायत प्रतिको अपार निष्ठा थियो । बाहिरको संसारलाई उहाँले एकप्रकारले तिलान्जली नै दिनुभएको थियो ।

मनोलोक निर्माण गरेर मनुजबाबुले बरू स्वमनुजत्व निर्वाह गर्नुभयो । कहिले ‘गार्गान्तुवा’ (सिङ भएको मानिस) बनाउनु भयो त कहिले मोनालिसासँग आफ्नो स्वयम्बर गरेको कल्पना गर्दै चित्र उतार्नुभयो । यी दुवै चित्रहरू नेपाली कला यात्रामा बेजोड प्रयोग र माइल स्टोनसमेत रहेका छन् ।

तपाईं आफ्ना पिताश्रीसँग विदेश जानुभयो । तपाईको उच्च शिक्षा सबै विदेशमा भएको हो । विदेशमा बसेर तपाईंले संसार बुझ्नुभएको छ । संसारका कुरा कसैले तपाईंलाई सिकाइरहनु पदैन । उसो त आफैँ पत्रकार भएपछि तपाईं हरेक क्षेत्रको ‘ज्याक अफ अल, मास्टर्स अफ नन’ भैसक्नु भा’छ । नेपाली राजनीतिको दुर्दशा देखेर सोको मोचनका लागि तपाईं राजनीतिमा आउनु हुँदा धेरैले अप्रतिम खुसीभाव प्रकट गरेथे तर सो यतिखेर शनैःशनैः निराशामा परिणत हुँदैछ ।

जुन बेलाँ तपाईंले छँदाखाँदाको बीबीसीको जागिर छोड्नुभयो त्यो बेलाँ कोही कोहीले चाहिँ कन्डा पछाडि भनेकै हुन् –‘यो रवीन्द्र मिश्र युरोपेली युनियनको ‘मानिस’ हो । ऊ त्यहाँको इन्ट्रेष्ट पूरा गर्नका लागि त्यत्रो महिनाको ६ लाख कमाउने बीबीसी नेपाली सेवाको जागिर छाडेर आएको हो । उसलाई पत्रकारिताभन्दा राजनीतिमा मालामाल छ ।’ यो कुरामा कत्तिको सत्यता थियो त्यो कि तपाईंलाई थाहा होला या रामजाने !

आफैँ पनि बीबीसीमा लामो सयम काम गर्नुभयो । पत्रकारिता गर्दा सयौं र हज्जारौं सन्दर्भमा नेपालका यिनेगिनेका नेताहरू, बेपारी, टप लेभलका मानिसहरू र पावर ब्रोकरहरूलाई तह लगाउँदै भित्तैमा पुर्‍याउने गरी अनेक प्रकारका लामाछोटा अन्तर्वार्ताहरू लिनुभयो ।

हो ! पत्रकारितामा तपाईंको दख्खल थियो । सबैले वाह ! वाह ! गर्थे । पत्रकारिताको जागिर चटक्क छाडेर राजनीतिमा आउनुभयो । राजनीतिमा तपाईंले रोजेको बाटो ‘वैकल्पिक राजनीतिको धार’ थियो जुन धारमा नेपालभित्र र नेपालबाहिर रहेका लाखौं युवाहरूले आफ्नो भविष्य देख्दै थिए । जो विदेश जानका लागि झोला कसेर उड्न लागेको युवा थियो त्यसलाई तपाईंले भनेका कुराहरूले धेरै छुन्थ्यो तर अब तपाईंले करिब पाँच वर्षमा आफ्ना कुराहरू फेर्न लाग्नुभएको छ ।

त्यो युवा पाँच वर्ष कमाएर घर आउन खोज्दै छ । फेरि तपाईं यु टर्न हुँदै राजसंस्थाको वकालत गर्न थाल्नुहुन्छ भने युवाले अब तपाईंहरूजस्ता होनहार नेतामा कसरी विश्वास गर्ने ? पुराना ‘ठालु’ पार्टीले तर्साएका युवाहरू अब जाऊन कहाँ ? हालून भोट कसरी ? यो प्रश्नको जवाफ तपाईंले दिनै पर्ने भएको छ ।

कांग्रेस र कम्युनिष्टहरूका रिसाएका भोटरहरू जम्मै तपाईंको पोल्टामा आउने तर्खर गर्दैगर्दा केही हप्ताअघि तपाईंले राजतन्त्र, हिन्दुधर्म र संघीयताबारे संविधानले दिएको जनमतसंग्रहको अभ्यास गर्नु पर्ने आशयको अभिव्यक्ति दिनुभयो त्यसले नेपाली राजनीतिमा नराम्रो तरङ्ग ल्याइदिएको छ । नबुझ्नेले भनिसके –‘विवेकशील साझा भनेको त विवेकशील राप्रपा पो रहेछ !’

यसोभन्दा अग्रगामी र वैकल्पिक राजनीतिको धार समात्न चाहने युवा र जोकोहीलाई असीम पीडा भएको छ । अहिले बजारमा तपाईंका विरुद्धमा तपाईंकै चार युवा नेता÷नेतृहरू विरोधमा उत्रिएका छन् । घुमाइफिराई राजतन्त्रका पक्षमा बोल्नु नै थियो भने तपाईंले किन कमल थापाको पार्टी जोइन नगर्नु भएको ? सरल हुन्थ्यो राजसंस्थाको मुद्दालाई सजिलो गरी स्थापित गर्नका लागि ।

यतिका वर्ष लगानी गरिसकेपछि जुन यु टर्नमा तपाईं घुम्नु भएको छ त्यसले तपाईंको राजनीतिक भविष्य त लिलिपुट बनाइसक्यो साथै तपाईंको पार्टीमा भविष्य छ भन्ने देखेर पछि लागेका लाखौं भोटर र हजारौं नेताहरूको भविष्यसमेत चौपट बनाइदिनु भयो ।

बजारमा अर्को हल्ला चलेको छ –एमालेका जण्ड नेता महेश बस्नेत, विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र र राजावादी कमल थापाहरूको विचार मिल्नु आखिर संयोग मात्र हो कि नियोजित ? यदि संयोग मात्र हो भने केही छैन तर जनतालाई ढाँटेर नियोजित खेल नै हो भने नेपालमा देखिएका र नदेखिएका राजनीतिज्ञहरू विदेशीकै ‘पपेट’ हुने रहेछन् भन्ने कुरा नागरिकले अब चाहिँ मज्जाले बुझे भयो ।