
दीपक श्रेष्ठ
काठमाडौं । सवारी साधनको चापले काठमाडौंका सडक पार्किङस्थलमा परिणत हुँदै गएका छन् ।
स्मार्ट पार्किङका नाममा महानगरपालिकाले कमाउधन्दा बनाएपछि मुख्य शहरका सडकपेटी पैदलयात्रीको लागि एम्बुस बनेका छन् । फुटपाथमा सवारी साधनको दोहोरो तेहरो पार्किङ, सडक व्यापारले पैदलयात्री मारमा परेका छन् ।
समयको बचत गर्न सवारी साधन किन्नेहरू सडकजामको बढ्दो आतंकले वाक्क हुने गरेका छन् । काठमाडौंको मुख्य सडकमा पैदलयात्री र पैदलयात्री हिँड्ने ठाउँमा सवारी साधन गुड्छ । गुड्ने सवारी साधन चाहिँ घण्टौ जाममा फस्छन् ।
स्वच्छ, सफा र हराभरा काठमाडौं बनाउने नारा धेरै पुस्ताले पचाइसक्यो । तर, संघीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्–झन् कहालीलाग्दो बन्दै गएको छ ।
सरकारले केही वर्ष पहिले काठमाडौं उपत्यकाको सवारी चापलाई मध्यनजर गरी सडक आसपास क्षेत्रका घर भत्काएर सडक चौडा बनाएको थियो । तर, अहिले ती चौडा बनाइएका गाडी गुड्ने सडक पार्किङस्थलमा परिणत भएका छन् ।
काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्डअनुसार व्यापारिक भवन बनाउँदा अनिवार्य रूपमा भूमिगत पार्किङ बनाउनुपर्ने प्रावधान छ । महानगरको मापदण्ड बमोजिम भवन बनाइए पनि भवन बनाउनेहरूले पार्किङस्थल बनाउने तर्फ कुनै ध्यान दिएको पाइँदैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा आफूहरू निरन्तर जाम कम गर्ने प्रयास गरिरहेको बताउँछ । सडक सवारी साधन गुडाउनका लागि मात्रै भएको महाशाखाका सह–प्रवक्ता सुनिलजङ्ग शाह बताउनुहुन्छ । सडकमा सवारीसाधन पार्किङ गर्दा धेरै जाम हुने गरेको उहाँको भनाइ छ ।
नियामक निकायले मापदण्डअनुसार कार्यान्वयन नगर्दा सडकका दुवैतर्फका सडक पार्किङले भरिएका छन् । न्युरोेड क्षेत्रको सडकमा त झनै ‘फुटपाथ’समेत ओगटेर सवारी पार्किङ गरिएका छन् । अर्कोतिर मान्छे हिड्न बनाइएको फुटपाथमा सडक व्यापारीले कब्जा गरेर पसल थापिदिँदा फुटपाथ प्रयोगकर्ताहरू सडकमै हिँड्न बाध्य छन् ।
यसरी सडक अव्यवस्थित बनाइँदा हुने दुर्घटनाको जिम्मेवार को हुने भन्ने प्रश्नको जवाफको उत्तर कोहीसँग छैन । यसरी फुटपाथ कब्जा गरेर पसल थाप्नु गलत काम भएको र महानगरपालिकाले त्यस्ता व्यापारीहरुको सामान जफत गरेर लिलाम गर्ने गरेको छ ।
महानगरपालिकाले सडक व्यवस्थापन गर्न आफूहरूले दीर्घकालीन काम गरिरहेको रटान लगाउन छाड्दैन । महानगरका प्रवक्ता ईश्वरमान डंगोल सडकलाई खुला गर्न र फुटपाथलाई पनि व्यवस्थित बनाउन आफूहरूले दैनिक काम गरिरहेको बताउनुहुन्छ ।
ट्राफिक प्रहरीले दैनिक निषेधित क्षेत्रमा पार्किङ्ग गर्ने ३ सय देखि २ सय ५० सवारी साधनलाई कारबाही गर्दै आएको छ । सडकको तीन तहसम्म ओगटेर गरिएका पार्किङ व्यवस्थापन अस्तव्यस्त हुँदा यसको प्रत्यक्ष मारमा यात्रु परिरहेका छन् ।
जाम हटाउन र फुटपाथ व्यवस्थित गर्न ट्राफिक प्रहरी, महानगरपालिका, यात्रु र सवारी चालक जिम्मेवार बन्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्