१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विदेशबाट फर्किएकाहरू च्याउ खेतीमा आकर्षित


0
Shares

प्रकाश लिम्बु
तेह्रथुम । वैदेशिक रोजगारी भनेपछि मरिहत्ते गर्ने तेह्रथुमका युवाहरू अहिले गाउँमै च्याउखेती गर्न थालेका छन् । विदेशमा बगाउने पसिना स्वदेशमा बगाउन सके यहीँ केही गर्न सकिने भन्दै उनीहरू सामूहिक च्याउखेतीमा लागेका हुन् ।

वार्षिक रूपमा ५ लाखभन्दा बढी युवाहरूको रोजगारीका लागि पहिलो रोजाइ बन्छ विदेश । वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरू कोही दुःख पाएर फर्किन्छन् त कोही कमाएर पनि फर्कने गरेका छन् । विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने युवाहरूको संख्या भने कमै छ ।

तर, तेह्रथुम म्याङलुङ आम्फुवाका भुवन सिंह लिम्बुलगायतका युवाहरू विदेशमा सिकेको सीपलाई यहि सदुपयोग गर्न लागेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका लिम्बु अहिले लालीगुराँस नगरपालिका लसुनेमा जापानिज सिताके च्याउ खेती गर्न थालेका छन् ।

१० लाख लगानीमा उनले च्याउ खेती सुरु गरे पनि अब भने यहाँका युवाहरूले पनि सामूहिक रूपमा च्याउखेती गर्ने भएका हुन् ।

गाउँमा परिवारसँगै व्यावसाय गर्ने सोचका साथ जापानिज सिताके च्याउ खेती यहाँका धेरैको रोजाइ बन्न पुगेको छ । च्याउ बिक्रीबाट मात्रै मासिक एक लाख रुपैयाँसम्म आदाम्नी हुने गरेको लिम्बुको भनाइ छ । लिम्बुले फेदाप तीनजुरेमा पनि च्याउ उद्योग दर्ता गरी च्याउखेती गर्दै आएका छन् ।

३ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा लिजमा लिएर उनले खेती गरेका हुन् । अहिले उनी आफू मात्रै व्यावसायिक बनेका छैनन् यहाँका बेरोजगार युवाहरूलाईसमेत रोजगारी दिन थालेका छन् ।

तेह्रथुममा उत्पादन भएको च्याउ म्याङलुङका साथै तराईका जिल्लाहरूमा समेत निर्यात हुने गरेको छ । प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुने च्याउ तराईका जिल्लाहरूमा बढी खपत हुने गरेको छ । त्यसैले लाखौं रुपैयाँ लगानी गरेर विदेशिनु भन्दा गाउँमै व्यवसायी बन्न सके रोजगारीका लागि भौतारिनुपर्दैन ।