
काठमाडौं । एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतिय ग्रीड आधुनिकिकरण परियोजनाका लागि नेपाललाई ७ अर्ब ८ करोड ऋण प्रदान गर्ने भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित नेपालको विद्युतीय ग्रीड आधुनिकीकरण परियोजनाको ऋण सम्बन्धी हस्ताक्षर कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी, एसियाली विकास बैंकका देशीय निर्देशक अमुद काउकोसले हस्ताक्षर गर्नुभएको हो ।
नेपालगन्जदेखि कोहलपुरसम्म १६ किलोमिटर क्षेत्रमा १ सय ३२ किलोभोल्ट र चोभारदेखि लगनखेलसम्म ४ सय ७७ मेगाभोल्ट विद्युत प्रसारणलाइन बनाइने छ । यी क्षेत्रमा प्रसारण लाइन विस्तारका लागि दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा सवस्टेशन निर्माण गरिने छ ।
सम्झौता कार्यक्रममा अर्थसचिव मधु मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाएर निर्यात गरी व्यापार घाटासमेत कम गर्न सहयोग पुग्ने बताउनुभयो ।
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यो ऋणबाट बन्ने विद्युत प्रसारण लाइनले नेपालको विद्युत क्षेत्रमा माग बढाउनुका साथै औद्योगिक क्षेत्र विकासका लागिसमेत सहयोग पुग्ने बताउनुभयो ।
एडिबीको नेपालका लागि देशीय निर्देशक अमुद काउकोसले यो अतिरिक्त अनुदानले उत्पादित विद्युत प्रसारण लाइन विस्तारमा सहयोग गर्नुका साथै विद्युतको गुणस्तरमासमेत वृद्धि गर्र्ने बताउनुभयो ।
आगामी ४ वर्षका लागि प्राप्त ऋणले नेपालको विद्युत वितरण प्रणालीमा सुधार, ट्रान्समिसन लाइन विस्तार साथै विद्युत उत्पादनमा समेत वृद्धि गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्