
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ कुनैपनि प्रकारको अवरोधविना सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ विना कुनै अवरोध सम्पन्न भएको बताएको हो ।
राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षहरूसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो ।
महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताउनुभयो । जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उहाँले केन्द्रीय तथ्याङ्क विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिनुभयो ।
एक वर्षपछि जनगणनाको रिपोर्टहरू निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उहाँको भनाइ छ । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
महानिर्देशक श्रेष्ठले केही गणकहरूले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उहाँले स्पष्ट पार्नुभयो । दुर्गम र पुग्न कठिन ठाउँहरूमा पनि गणकहरूले जनगणना गरेको उहाँले बताउनुभयो । गणकहरू तिङ्कर र छाङरुसम्म पुगेर जनगणना गरेको उहाँको दाबी छ ।
केन्द्रीय तथ्याङ्क विभागले देशभरका सम्पूर्ण भू–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरूमा भने कुटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्