
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका ५० प्रतिशतभन्दा बढी स्थानमा एमालेले कब्जा जमाउने बताउनुभएको छ ।
चितवनको नारायणी किनारमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा पार्टीले आधा भन्दा बढी स्थानीय तहमा कब्जा जमाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब ४० प्रतिशत होइन, ५० प्रतिशत स्थानीय तहमा एमालेले कब्जा गर्छ ।’
अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।
‘हसियाँ हथौडाको झण्डा बोकेर बामपन्थीको सरकार ढाल्ने अनि दक्षिणपन्थीको सरकार बनाउने,’ उहाँले भन्नुभयो, ‘सबैले छाडिसके त, किन छाड्दैनन् म अचम्ममा पर्छु ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु र द्वन्द्वपीडितको समस्या समाधान किन नगरेको भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । महाधिवेशनपछि पूर्वलडाकुहरु नेकपा एमालेमा प्रवेश गर्ने लहर चल्ने उहाँको दाबी छ ।
आफू मन्त्री हुँदा भुटानी शरणार्थीको समस्या समाधान गरेको स्मरण गर्दै अध्यक्ष ओली एमालेले टेकेको ठाउँमा परिवर्तन हुने दाबी गर्नुभयो । एमाले तास फिट्ने र गफ चुट्ने पार्टी नभएको भन्दै उहाँले एमालेले काम गरेर देखाउने गरेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्