
दीपक श्रेष्ठ
काठमाडौं । ०४६ सालको जनआन्दोलनपछि तीन दशकमा २२ जना गृहमन्त्री फेरिए । शक्ति र सत्ताको आकर्षक पद मानिने गृहमन्त्री सम्हालेका मध्ये शेरबहादुर देउवा र केपी शर्मा ओली मात्र मुलुकको कार्यकारी प्रधानमन्त्री बन्न सफल भएका छन् ।
विडम्बना के छ भने त्यसबाहेकका अधिकांश पात्र संगठनभित्र निगाहको पात्रमा सीमित बने । न उनीहरूले आफ्नो देशको स्थायी सुरक्षा संयन्त्र प्रहरी संगठनलाई व्यावसायिक बनाउन सिन्को भाँचे, न राजनीतिको मूलकेन्द्रमा स्थापित भए ।
प्रधानमन्त्रीका अति विश्वासपात्र गृहमन्त्री बन्ने प्रचलन छ । चुनावी माहोल तान्ने मनोविज्ञान, बन्दुकमाथि शासन गर्न पाइने अभिलाषा, शासकीय रवाफ मात्र हैन कुर्सीबाट झरेपछि पनि आजीवन गाडीघोडासहितको राजकीय सम्मान पाइने भएकाले गृहमन्त्री बन्न हानाथाप चल्ने गर्छ ।
तीन दशकअघि अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीबाट शक्तिआरोहण थाल्नुभयो । उहाँ मुलुकको पाँचपटक प्रधानमन्त्री बन्नुभयो । देउवापछि गृहमन्त्री बन्नुभएका ओलीले प्रधानमन्त्रीमा दुईपटक बाजी मार्नुभयो । बामदेव गौतम पटक–पटक गृहमन्त्री बने पनि त्यसभन्दामाथि जाने बाटो अझै जुरेको छैन । बरु अहिले स्वतन्त्र वामपन्थीको हैसियतमा खुम्चिनुभएको छ ।
सभामुख, गृहमन्त्रीसहित धेरै मन्त्रालयको मन्त्री बन्नुभएका रामचन्द्र पौडेलको राजनीतिक आयतन बढ्न सकेन । बरु १७ पटक संसदमा प्रधानमन्त्रीका लागि भएको चुनावमा असफल बनेको अपजस खेप्नुपरेको छ । बहुदल आएपछि अन्तरिम सरकारको गृहमन्त्री बन्नुभएका योगप्रसाद उपाध्याय राजनीतिक परिदृश्यबाट ओझेल पर्नुभयो ।
नेपाली कांग्रेसमा समकालीन राजनीति गरेका खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशी सबै गृहमन्त्री त हुनुभयो तर पूर्वगृहमन्त्रीभन्दा माथि उठ्न सक्नुभएन । बरु तीनवटै पात्रले भ्रष्टाचारीको आरोपमा मुद्दा खेप्नुपर्यो । नारायणकाजी श्रेष्ठ, विष्णुप्रसाद पौडेल र खगराज अधिकारी दुई तीन हप्ते मन्त्रीमा सीमित हुनुभयो ।
दश वर्षे माओवादी युद्धपछि माओवादी सरकारमा उदायो । कृष्णबहादुर महरा, रामबहादुर थापा बादल, जनार्दन शर्मा, शक्ति बस्नेत गृहमन्त्री हुनुभयो । शासनसत्ता बदल्ने जोशका साथ आउनुभएका उहाँहरू आफैँ बद्लिनुभयो तर गृहमन्त्रीका रूपमा आफ्नो साख बढाउन सक्नुभएन । राजनीतिक दाउपेचबाट मनोविज्ञान कमजोर भएको प्रहरी संगठनलाई विवादास्पद बनाउन उहाँहरूको गतिविधिले थप मलजल गर्यो ।
पूर्वगृहमन्त्रीकै हैसियतमा रहनुभएका भीम रावलले राजीतिशास्त्रमा विद्यावारिधि त गर्नुभयो तर राजनीतिक उचाइको इँटा थप्नु सक्नुभएन । प्रशासकबाट गृहमन्त्री बनेका दानबहादुर शाही र डा. माधवप्रसाद घिमिरे पदको औपचारिकतामै सीमित हुनुभयो । राजतन्त्र र गणतन्त्र दुवै कितामा रमाउनुभएका कमल थापालाई सर्वाधिक मन्त्री हुने अवसर गणतन्त्रले नै दियो ।
गणतन्त्रपछि गृहमन्त्रीको विशेषण प्राप्त कांग्रेस नेता कृष्णप्रसाद सिटौलामाथि भगौडा प्रहरीलाई छानी–छानी भित्र्याएको आक्षेप लाग्यो । कांग्रेस नेता विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र बालकृष्ण खाँण गृहमन्त्रीको जागिरमै खुम्चिनुभयो । रवाफबाट सुरु गृहमन्त्रीको यात्रा खुम्चिनुको कारक व्यक्ति या प्रवृत्ति अनुसन्धानको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्